पछिल्लो सङ्कट र लोकतन्त्रको रक्षा

लोकतन्त्र जनताको सर्वोपरि अधिकार हो । जनताले चुनेका नेताहरूले राज गर्ने शासन सत्ताको परिचय लोकतन्त्रले प्रवाह गर्ने गर्दछ । जनताले चुनेका जनप्रतिनिधिहरूले जनताको लागि के कति काम गरे वा गरेका कामहरूको विवरण जनतालाई कति बुझाउन सके वा कति समस्याहरूका बारेमा जनता वा आफ्नो निकटका कार्यकर्ताहरूलाई सन्तोष बनाउने सके यी र यस्ता विषयहरूमा बेला बेलामा विभिन्न खाले चर्चा र परिचर्चाहरू हुने गर्दछन् । वास्तविक लोकतन्त्र भित्र समाजमा रहेका विपन्न समुदायको जीवनस्तर सुधारका लागि गर्नुपर्ने महत्त्वपूर्ण कामहरूको बारेमा सबैभन्दा धेरै वकालत र पैरवी निर्वाचन जितेका उम्मेदवारहरूले गर्नुपर्ने हो । नेपालको सन्दर्भमा केही यस्ता विषयहरू अहिले पनि जस्ताको तस्तै छन् ती विषयहरू भनेको २० औँ वर्षदेखि जुन विपन्न समुदायहरूले मतदान गरे उनीहरूको जीवनस्तरमा सुधार हुन सकेन । निर्वाचन जिताएर गएका जनप्रतिनिधिहरूले भने सुविधा सम्पन्न स्थानहरूमा घर घडेरी जोडे र उनीहरू सुविधा सम्पन्न स्थानमा बसाई सरे यो विषय जब आम नागरिकहरूले थाहा पाए त्यसपछि भने जनताको नाममा छारो हाल्नेहरूको अहिले बेहाल हुनसक्ने अवस्था देखिएको छ ।

नेपाली काँग्रेस नेपालको सबैभन्दा बढी लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्ने पार्टीको रूपमा परिचित पार्टी हो । हिजोका दिनमा जहानिया शासन व्यवस्थाको विरुद्धका अभियान देखि शाही शासन काल लगायतका विभिन्न कालखण्डमा जनताको अधिकार प्राप्तिका विषयहरूमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पार्टीको परिचय बनाएको नेपाली काँग्रेसको सत्तामा पुगेका मध्ये, नेतृत्वमा पुगेका केही नेताहरुको व्यक्तिगत आचरणका कारण सिङ्गो लोकतान्त्रिक पार्टीमाथि विभिन्न आरोपहरू लाग्ने गरे, यो विषय लोकतान्त्रिक मान्यता बोकेको नेपाली काँग्रेसमा मात्र हैन अन्य नेपालमा बेला बेलामा राज्य सत्तामा पुगेका नेकपा माओवादी, नेकपा एमाले, लगायतका विभिन्न पार्टीहरूका केही व्यक्तिका गलत प्रवृत्तिका कारण समग्रमा नेपालमा लोकतन्त्र प्राप्तिको लडाइमा लागेका सबै पार्टीहरूलाई लगत आरोप लाग्दै आयो । यस्ता आरोपमहरुमा केही समिति व्यक्तिहरू थिए तर समग्रतामा त्यसको आरोपको सिकार नेपालका नाम चलेका राजनीतिक पार्टीहरू परे । अहिले नेपालमा जेनजी आन्दोलन पछि फरक दृश्यहरू देखिएका छन् । ती दृश्यभित्र नेपाली काँग्रेस फुट नजिक पुगेको छ । निर्वाचनको मुखमै नेपाली काँग्रेसको विभाजनको विषयले पार्टी भित्र मात्र हैन सिङ्गो लोकतन्त्रको रक्षाको विषयमा समेत चासो र चिन्ता बढेको विश्लेषणहरू भएका छन् । अझै पनि समय छ विगतका कमी कमजोरीहरू सच्याउँदै नेपालमा लोकतन्त्रको रक्षा, राष्ट्रियताको रक्षा, नेपाली जनताको मौलिक अधिकारको रक्षाका लागि लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टीहरूले गहन छलफल गरेर देशको समग्र विकास, सुशासनको विषयमा एकमत जाहेर गरेर नेपाल र नेपालीहरूको राष्ट्रिय अखण्डताका विषयमा एकमत जाहेर गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार